अग्रगति साप्ताहिक
वर्ष ३, अंक ४६ र ४८, २०६६ सावन १५ र २२
पार्टी निर्माणको सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु–२
वर्ष ३, अंक ४६ र ४८, २०६६ सावन १५ र २२
पार्टी निर्माणको सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु–२
जनवादी केन्द्रीयताको प्रश्नमा माओ भन्दछन्, “पार्टीभित्र होस् वा बाहिर होस् पूर्णतः जनवादी जीवन हुनु पर्दछ, यो भन्नुको अर्थ जनवादी केन्द्रीयतालाई सचेतताका साथ लागू गर्नु हो ।...आलोचना एउटा विधि हो,...के हो त केन्द्रीयता ? पहिलो कुरा, यो सहि विचारहरुको केन्द्रीकरण हो जसको बुझाई, नीति, योजना, नेतृत्व र काममा एकता कायम हुन्छ ।” यो उद्धहरणबाट यो कुरा उजागर हुन्छ कि एउटा माक्र्सवादी व्यक्तिले जनवादी र केन्द्रीयतालाई ठीक ढंगले बुझ्नु पर्दछ । तर हामी देख्दछौ कि आफुलाई भैंकर बुझेका र जानेका छौ भन्नेहरुले यसको अन्तरसम्बन्धलाई बुझ्न नसकेको वा बुझेर पनि आफ्नो व्यक्तिगत उद्देश्यमा लगातार उन्मुख र परिणत भएको । उनीहरुमा एकता, आलोचना, आत्मालोचना, जनवादी केन्द्रीयताको प्रश्नहरुमा सर्वहारा विश्व दृष्टिकोणको आधार हुदैन । जनवादी केन्द्रीयताको बारेमा माओ भन्दछन्, “जनवादी केन्द्रीयताले दवाउनेहरु हुन्, जमिन्दार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरु, कम्युनिस्ट विरोधी दक्षिणपन्थी तत्वहरु र गलत तत्वहरु ।” वर्ग संघर्षको राजनीतिक लडाइमा दया, माया, सम्बन्ध, उठबस, पुरानो साथी वा गठबन्धन र सहाकार्य आदि प्रश्नहरुलाई पनि सर्वहारावादी विश्व दृष्टिकोण कै आधारमा हेरिनु पर्दछ । गलत विचार जो कसैलै प्रवाह गरे पनि आलोचनात्मक सृजनशिलता अपनाइनु पर्दछ । वास्तवमा हामं्रो गल्ति भनेको हामीसंग जे छ, जे गर्न सकिन्छ र जे गर्न आवश्यक छ त्यो भन्दा बढी फुर्तिफार्ति गर्नु हो ।
हाम्रो पार्टीको केहि कामरेडहरुले माओवादीसंग पार्टी एकताको आधार खोज्ने र पार्टी एकीकरण गर्न सकिन्छ भन्ने तर्कहरु दिइरहनु भएको छ । यस प्रसंगमा उल्लेखनीय पक्षतिर ध्यान दिन र गंभिर छलफल गर्न आवश्यक छ । राजनीतिक लडाइमा सैद्धान्तिक पक्ष र त्यसले पार्ने दुरगामी असर पक्षको कति महत्व छ भन्ने कुरा माथि संक्षिप्त उल्लेख गरिसकियो । अब माओवादी र हाम्रो पार्टीको सैद्धान्तिक, नेपाली क्रान्तिको कार्यादिशाको बुझाई र आफ्नो पार्टीको सैद्धान्तिक बुझाई अनुसारको क्रियाकलाप र व्यवहारिक रुखतिर ध्यान दिऔं ।
नेपाली कम्युनिस्ट आन्दोलनमा मुलतः “माओवादी” वाक्यांशको प्रयोग ०५१ देखि ०५२ सालको समयावधिदेखि चलन चल्तिमा ल्याइयो । त्यो भन्दा अगाडि “वाद” संग जोडिएको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र लिइन्थ्यो । माओको नेतृत्वमा माओ कै जीवनकालमा पनि माओको विचार र योगदानलाई “वाद” वा के मान्ने बहस चल्यो । चीनको कम्युनिस्ट पार्टीले उनले माक्र्सवादी आन्दोलनमा गरेको योगदान र विचार प्रवाहलाई “विचारधारा” मान्न सकिन्छ भन्ने उच्च मुल्यांकनका साथ टुंग्यायो ।
यो वाक्यांशको प्रवेश मुलतः षडयन्त्रकारी लीन प्याओ र त्यस्तै पात्र वा पदका भोकाहरुले माओले बैकल्पिक नेतृत्वको आवश्यकताको विषयमा विचार प्रवाह गर्न थालिरहेको अवस्थामा विशेषत माओको चाकरी गर्ने र नेतृत्व हत्याउने गलत मनसायले. ल्याएका थिए । “वाद” को प्रश्न दार्शनिक र सैद्धान्तिक छलफलसंग जोडेर ल्याएका थिएनन् । उनीहरुले नेतृत्व हत्याउन अन्तिम अवस्थासम्म माओले बोलेका शब्द शब्दलाई अतिर िञ्जत ढंगले बढाइचढाई गरिनै रहे । तर यो विषयमा आम बहस गरिसकेपछि चिनीया कम्युनिस्ट पार्टीले ठीक विश्लेषणका साथ यो समस्यालाई टुंग्यायो । तर उनीहरुको षडयन्त्रकारी र भद्धा निम्न पूजीवादी चरित्र त्यतिखेर उदाङ्गो भयो जतिखेर माओको हत्या गर्ने योजना विफल भयो । यसबाट यो स्पष्ट हुन्छ कि कुनै पनि चीज र बस्तुस्थिति तथा त्यसप्रति अपनाइने रुखको प्रश्नमा दार्शनिक र सैद्धान्तिक प्रश्न जोडिएको हुन्छ र अवसरवादीहरुले व्यक्तिगत उद्देश्यको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा दिनको घाम झै छर्लङ्गै हुन्छ । एउटा समयावधिमा विश्वास गरेका लीन प्याओ र त्यस्तै अन्य पात्रहरुको त्यससंग जोडिएका सैद्धान्तिक र दार्शनिक तथा उनीहरुका निम्न पूजीवादी चिन्तन र प्रवृतिको पछि माओले खुलेरै भण्डाफोर गरे । जतिखेर लीन प्याओहरुले माओलाई “महामानव” को रुपमा मान्नु पर्दछ भनेर बढिचढाई व्याख्या गरिरहेका थिए । यसो गर्नुमा उनीहरुमा सैद्धान्तिक र दार्शनिक पक्षमा आएको भड्कावलाई उजागर गर्नु थियो ।
माओको मृत्यु पश्चात विश्व कम्युनिस्ट आन्दोलनमा संंशोधनवादी तथा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको हावी भयो । त्यो अवस्थालाई सैद्धान्तिक प्रतिवाद गर्न कतिपय व्यक्ति र समुहले राम्रै मनसायले पनि प्रतिक्रियावादी अवसरवाद र संशोधनवाद विरुद्ध माओले चलाएको सांस्कृतिक क्रान्तिको उच्च मुल्यांकन गर्दै “माओवाद” वाक्यांशको प्रयोग पनि गर्ने गरियो । तर त्यस विरुद्धको सहि प्रतिवाद गर्न “माओवाद” शब्दको प्रयोग ठीक थिएन । बरु सहि नीति र कार्यनीतिको निरन्तर प्रयोग नै हुनुपर्दथ्यो ।
अब “वाद” वाक्यांशको व्यष्टि र समष्टि विश्लेषणतिर जाऔ । “वाद” अंग्रेजीको “ism” हो । “ism” को शाब्दिक अर्थ विज्ञान पनि हो । विज्ञानले कुनै पनि चीज र बस्तुस्थितिको तथ्यसंगत व्याख्या, विश्लेषण र संश्लेषण गर्दछ । विज्ञानका अध्ययन क्षेत्र वृहत भए पनि व्यष्टिगत रुपले एउटा आधारलाई अध्ययनको क्षेत्र बनाउन सकिन्छ । त्यसैले निश्चित अवस्था र अवधिको समाजिक सभ्यताको बैज्ञानिक व्याख्या र त्यस अवधिको क्रान्तिको समग्र व्याख्या “ism” वा “वाद” हो । त्यसैले यसमा चुरो कुरा यो छ कि “वाद” ले समाजिक अवस्था र चरणको समाजिक क्रान्तिको सापेक्षिक व्याख्या गर्दछ । अथवा “वाद” एउटा सामाजिक अवस्था र चरणमा समाजिक क्रान्तिको बस्तुगत व्याख्या र विश्लेषण तथा त्यसप्रतिको प्रक्रियागत व्याख्या हो । त्यसैले शब्दहरुको पं्रयोगमा हामी रुखलाई घर, घरलाई गाडि, गाडिलाई साडि भन्न सकिदैन, त्यसरी नै “वाद” वाक्यांशको ठाउमा “विचारधारा” वा विचारधाराको ठाउमा “वाद” भन्न सकिदैन । किनभने त्यसले निश्चित बोझिलो र गहकिलो दार्शनिक अर्थ वोकेको हुन्छ वा यो यस्तो शब्द हो जो आफैमा दार्शनिक अर्थ छ । यदि त्यस्तो नहुदो हो त वा दार्शनिक पक्षबाट बुझ्ने भिन्नता नहुदो हो त तत्कालिन गतिविधिमा आकास जमिनको फरक हुदैन थियो । एउटा मान्छे निर्देशित हुने कुरा भनेकै उसको दार्शनिक पक्ष नै हो । त्यसैले ‘माओवाद’ को व्याख्या, विश्लेषण गर्ने शक्तिहरुद्धारा गर्ने असफल कोशिस मात्र हो । नेपालको सन्दर्भमा वास्तवमा यो वाक्यांशको स्थापकद्धारा जसरी दार्शनिक भड्काव र व्यवहारिक अवसरवादी कोणद्धारा प्रयोग गर्ने योजनाबाट ल्याइएको थियो । अहिले पनि विश्व कम्युनिस्ट आन्दोलनमा भड्काववादी दृष्टिदोषद्धारा नै प्रयोग गर्ने निरन्तरता छ ।
केहि साथीहरुले जो माओवादीसंग पार्टी एकता गर्न सकिन्छ र त्यहिभित्र बसेर पनि माक्र्सवादी आन्दोलनको लागि योगदान र संघर्ष जारी राख्न सकिन्छ भनेर माओवादीले गरेको गंभिर सैद्धान्तिक र बैचारिक भड्काव विरुद्धको संघर्षप्रति नजरअन्दाज गर्ने षडयन्त्रकारी धोकाधढी प्रवृति मौलाउन प्रश्रय दिनु भएको छ । यो माक्र्सवादप्रतिको धोका हो । “वाद” वा “विचारधारा” एउटै हो । विचारधारा÷माओवाद राखेर पार्टी एकता गर्न सकिन्छ भनेर उद्दार पक्षको जिकीर सुन्न पाईन्छ । उनीहरुले यो जिकीर गर्न सकेका छैनन् कि यदि यो प्रश्न एउटै हो भने माओवादीहरु विचारधारात्मक संंघर्षमा पछि विचारधारा मान्न सक्छन वा सैद्धान्तिक लडाईमा आफु ‘माओवाद’ तथा ‘प्रचण्डपथ’ पनि मान्न सक्छौ । तर यस्तो नभने पनि यो कुरा सहज सतहमा आउदछ कि यो प्रश्नमा व्यक्तिवादी व्यवहारिक सम्झौतातिर क्रान्तिकारीताको नाममा जाने बौद्धिक कसरत हो ।
वास्तवमा माओवादीहरुले माओको पछाडि “वाद” थप्नु पर्ने कारण नै ‘प्रचण्डपथ’ जोड्नलाई नै थियो भन्ने कुरा दिनको घाम झै छर्लङ्गै भएको छ । माओवादी र जनमोर्चा, नेपालबीच पार्टी एकता हुदा ‘प्रचण्डपथ’ शब्दलाई “हाइड” गर्ने सहमति भएको थियो । तर उनीहरुका कयौ कार्यालयहरुमा स्पष्टरुपमा ‘प्रचण्डपथ’ जिन्दावाद लेखिएको छ । यसबाट यो बुझिन्छ कि मानीलिऔ, यदि यो विषयलाई छलफल गर्ने उच्च निकायमा लाने हो भने बहुमतले नै यो विचारलाई निरन्तरता दिने निश्चित छ किनभने यो बुझाईको निन्तरताको श्रृंखला टुटेकै हुदैन । जहा बसेर पनि संघर्ष गर्न सकिन्छ भन्ने महान उदारतामा जाने हो भने सहि माक्र्सवादीहरुको अलग पार्टीको आवश्यकता पर्दैन थियो । कांग्रेस वा एमाले पार्टीमा बसेर पनि संघर्ष गर्न सकिने थियो । भड्काववादी सोचहरुबाट भएको पार्टी निर्माण आज आएर फेरी अर्को भड्कावमा गएर अवसान हुने देखिन्छ । यो पार्टी यस्तो जटिल मोडबाट गुज्रिरहेको छ, सेना साथमा छ तर राजनीतिक कार्यदिशा भने दक्षिणपन्थी संशोधनवादी दिशातिरको उन्मुखतामा क्रमश गइरहेको छ । यस्तो स्थिति यो मात्रामा संसारमा विरलै हुने गर्दछ । तर माओवादीहरु त्यो दिशामा नजाउन भन्नका लागि हामीले नेपाल कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र बैचारिक लडाईलाई दृढताका साथ अगाडि बढाउन आवश्यक छ । यद्यपी यो प्रश्नले धेरै कामरेडमा भ्रम दिएको छ, अलमलता ल्याइदिएको छ । यदि यो पक्षलाई मिहिन तरिकाले बुझ्न नखोज्ने हो भने अबको आधुनिक संशोधनवादलाई परास्त र भण्डाफोर गर्न सकिदैन । यसो नगर्ने हो भने देखि माक्र्सवादी मर्ममाथि वा आन्दोलनप्रति धोका हुन्छ । संशोधनवादीहरुको चलबाजीको शिकार हुइन्छ । यो कुरा पनि सबैले बुझ्न आवश्यक छ कि पार्टीभित्र रडाको मच्याएर, खैलावैला गरेर, अनुशासनहिन काम गरेर, बैचारिक स्तर कम भएकालाई लविङ्ग गरेर पार्टी एकता हुदैन । विचार र कार्यक्रमको सामिप्यताले नै पार्टी एकीकरणको दिशामा लैजान्छ । त्यसैले अहिलेको आवश्यकता पार्टी निर्माण पनि हो । बैचारिक संघर्षहिन निरपेक्ष पार्टी एकीकरणको हामीले विरोध गरेर जानु पर्छ
No comments:
Post a Comment